SSI SSI
SSI SSI

निद्राले मानिसका सम्पूर्ण दुःखहरू डुबाईदिन्छ : मुन्शी प्रेमचन्द



हिन्दी साहित्यमा ‘उपन्यास सम्राट’ भनिने मुन्शी प्रेमचन्द (१८८०–१९३६) को वास्तविक नाम धनपत राय श्रीवास्तब हो । आधुनिक हिन्दी र ऊर्दू साहित्यको कथा र उपन्यास विधामा प्रेमचन्दको सर्बोच्च स्थान छ । एउटा वास्तविकता बताइहालूँ, नेपाली कथा तथा उपन्यास साहित्यका ख्यातीप्राप्त हस्ताक्षर विश्वेश्वरप्रसाद कोइराला (जननायक बीपी कोइराला) लाई १५ वर्षकै उमेरमा कथा लेख्न प्रोत्साहन दिने प्रसिद्ध भारतीय, ‘हंस’ साहित्यिक साप्ताहिक पत्रिकाका सम्पादक प्रेमचन्द नै थिए, जो भारतबाट ब्रिटिशहरूलाई धपाउने जनमतको लक्ष्यले स्थापना गरिएको थियो । हंसको घाटा ब्यहोर्न नसकेपछि त्यो बन्द भए पनि उनले ‘जागरण’ नामक अर्को पत्रिका प्रकाशित गरे ।
विश्वेश्वरले किशोरावस्थामा कथा लेख्न शुरू गर्दा हिन्दीमा लेख्नुभएको थियो, ‘चन्द्र वदन’, जो उक्त पत्रिकामा प्रकाशित भएको थियो । यसबारे उहाँ भन्नुहुन्छ, शान्तिप्रिय द्विेदी (हिन्दीका प्रख्यात समालोचक तथा संवेदनशील लेखक) ले मलाई हंसमा लेख्न भने । मैले भनेँ, "मेरो कुरा हंसमा कसरी छापिएला र ?"
"किन छापिँदैन, तिमी लेख, छापिन्छ" भनेर उनले मलाई भने । त्यसपछि म प्रेम चन्दको अफिसमा गएँ एउटा कथा लिएर । उनी बडो नम्र र सीधा मानिस थिए। तिनले मेरो कथा हेरेर अलिकति काटकुट गरेर छापिदिए (विश्वेश्वरप्रसाद कोइरालाको आत्मबृत्तान्त, पृ.१९)।
प्रेमचन्द नेपालगञ्ज निकट दक्षिणस्थित बहराइचमा शिक्षक भएर बसे ।


प्रेमचन्दले कथा तथा उपन्यास लेखन ‘नवाव राय’ को कलम–नामबाट करिब २३ वर्षको उमेरदेखि शुरू गरेका हुन् । उनको पहिलो लघु उपन्यास ‘देवस्थान रहस्य’ हो । यसलाई बनारसको एउटा ऊर्दू पत्रिकाले धारावाहिक रुपमा प्रकाशित गरेको थियो । त्यसपछिमात्र आजको प्रचलित नाम चिनिएको हो । उनले १ दर्जन उपन्यास, साडेदुई शय जति छोटा कथाहरू, कयौ नाटक, निवन्ध, अनुवाद आदिको काम गरेका छन् ।
प्रेम चन्दको जन्म बनारस नजिकैको लम्ही भन्ने गाउँको एउटा कायस्थ परिवारमा भएको थियो । उनका पिता अजैव राय हुलाकका सुब्बा–खरिदार (क्लर्क) सरहको जागीरमा थिए । उनकी माता आनन्दी देवी खातापिता परिवारकी थिइन् । प्रेमचन्दको उपन्यास ‘बडे घर की बेटी’ उनकै आमाको जीवन कहानीमा आधारित थियो भनी साहित्यकारहरू बताउँछन् । सानैमा आमाको निधन भएको र हजुर आमाले पालनपोषण गरेका प्रेमचन्दको जीवनमा वाल्यकालदेखिकै उपेक्षित जीवनको प्रभाव रहेको थियो । त्यो बेलाका भोगाई र सौतेनी आमाको रुखो ब्यवहार पनि उनका कथा र उपन्यासमा झल्किन्छ ।
समाजका अति सामान्य तर प्रतिनिधि पात्रलाई आफ्ना उपन्यास र कथाहरूमा केन्द्रीय पात्रको रुपमा प्रस्तुत गर्नु र मानिसको तल्लो तहका भोगाइ र अनुभवहरूलाई कथा–उपन्यासमा सजीव चित्रण गर्नु उनका कथा र उपन्यासको विशेषता हो । प्रेमचन्दकै जस्तो पात्र र विषयवस्तुको चयन नेपालमा गुरूप्रसाद मैनालीले गरे भने रुसमा म्याक्सिम गोर्कीेले गरेका थिए। प्रेमचन्दको निधन ५६ वर्षको उमेरमा लामो बिमारी पछि भयो ।
जन्मजयन्ती : ३१ जुलाई
( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्