SSI SSI
SSI SSI

इश्वरले तँ चिता म पुर्याउँछु भंछन् : कृष्णप्रसाद कोइराला


राणाकालमा राजनीतिक अभियोग लगाएर बन्दी बनाईएका र बन्दी अवस्थामै निधन भएकोले शहीद मानिएका चन्द्र शम्शेरकालीन विराटनगरका प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो कृष्णप्रसाद कोइराला (वि.स. १९३६–२००१) । विराटनगर स्थापनाका अग्रनायक, समाजसेवी, शिक्षाप्रेमी, चेतनशील, दिलदार, पाहुना पाल्ने सोख भएका, तीन छोरा प्रधानमन्त्री– बीपी, मातृका र गिरिजाका पिता भएकोले कोइरालाहरूको सम्पर्कमा आएका सबैले आदरपूर्वक ‘पिताजी’ भनिएका राणाविरोधी र प्रजातन्त्र समर्थक उहाँ संघर्षशील अभियन्ता हुनुहुन्थ्यो ।


छोरी तथा बुहारीलाई पनि छोरासरह शिक्षा दिने, उनीहरूलाई पौरी खेल्न, घोडा चढ्न लगायतका आत्मनिर्भरवादी शिक्षा दिनमा उहाँको जोड हुन्थ्यो । ‘दरबारिया लवज र शैलीको प्रभाव आफ्नो परिवारमा नपरोस्’ भनेर ‘बुवा’ को सट्टा ‘पिताजी’, बोलाएको बेला ‘हजुर’ भन्ने जवाफको सट्टा ‘आज्ञा’ जस्ता शब्द उहाँले प्रचलन गर्नुभयो । आफ्नो कुरालाई सत्य बनाउँदा किरिया–कसम खाने, दुई अक्षरका असभ्य बोलीमा उहाँको कडा प्रतिबन्ध थियो ।
वीर शम्शेरकै पालामा ‘मोरङ् बन्दोबस्त’ (आजको परिभाषामा मोरङ् एकीकृत विकास आयोजना) को जिम्मेवारी लिएर सिन्धुलीको दुम्जाका कोइरालाहरू विराटनगर पुगेका थिए । तिनै चार दाजुभाई कोइरालामध्येका कान्छा हुनुहुन्थ्यो दुम्जामै जन्मेका कृष्णप्रसाद । व्यापारको सिलसिलामा कलकत्ता आवतजावत बढेपछि उहाँमा राजनीतिक कृयाकलाप बढ्थाल्यो ।
चन्द्र शम्शेरको शासनमा सत्तासँग पहिले राम्रो सम्बन्ध राखेका कृष्णप्रसादको, भन्सारको सरकारी आम्दानी उठाएर दाखिला गर्ने ठेक्का बुझाउन नसकेपछि चन्द्र शम्शेर सम्बन्ध विग्रियो । एकदिन कृष्णप्रसादले सिराहाको माडर (चन्द्रगञ्ज) मा झुत्रा–चिथरा लुगा लगाएर पहाडबाट आएका गरिब भरियाको समुहमध्ये एकजनाको लुगा नयाँसँग साटेर पार्सल गरी चन्द्र शम्शेरकहाँ पठाईदिनु भयो । त्यसपछि क्रुद्ध चन्द्र शम्शेरले उहाँलाई सर्वश्वहरण गरी पक्राउ गर्ने तारतम्य गर्न थालेको थाहा पाएपछि उहाँ भारत निर्वासनमा जानुभयो ।
चन्द्र शम्शेरको शासन रहँदासम्म उहाँ ३५ जनाको ठूलो परिवारससहित बनारसमा बस्न पुग्नुभयो । बनारसमा रहँदा पनि राणविरोधी प्रचारप्रसारमा उहाँ सक्रिय रहनुभयो । हिन्दुस्तानका विभिन्न ठाउँमा भौंतारिँदै अन्त्यमा कोशी नदी किनार बिहारको दीपनगर (टेडी) भन्ने ठाउँमा फुसको झुपडी हालेर बस्न थाल्नुभयो । त्यहाँ उहाँले महात्मा गान्धीको सावरमती आश्रमबाट प्रभावित भएर त्यस्तै बनाउने प्रयासका साथ, ‘आदर्श विद्यालय’ नामक स्कूल पनि चलाउनु भएको थियो ।
भीम शम्शेर शासनमा आएपछि वि.स. १९८६ मा उहाँले माफी पाएर निर्वासनबाट स्वदेश फर्किएपछि त्यही विद्यालयलाई पिताजीले विराटनगरमा सार्नुभयो । काठमाडौं उपत्यकाबाहिर स्थापित भएको त्यो नै एकमात्र हाईस्कूल थियो । आदर्श विद्यालयमा पढेका धेरै विद्यार्थीहरू मुलुकका लब्धप्रतिष्ठित र जिम्मेवार बने ।
वि.स. १९९९ मा बबर शम्शेरको षड्यन्त्रमा फेरि अर्को झुटो अभियोग लगाएर, कोइराला निवासमा छापा मारेर उहाँलाई पक्राउ गरियो । कृष्णप्रसाद कोइराला काठमाडौँंको भद्रगोल जेलमा बन्दी बनाइनु भयो ।
बुढ्याइँ र बिरामीका कारण बन्दीगृहमै ओछ्यान परेका कृष्णप्रसादको अन्तिम अवस्था थाहा पाएर शासकले उहाँलाई बन्दीगृहबाट बाहिर लैजाने आदेश दिए । उहाँलाई त्रिपुरेश्वरमा आज आँखा अस्पतालको पुरानो भवन (तत्कालीन धर्मशाला) मा पुर्याइयो, त्यहीं उहाँको निधन भयो । दाहसंस्कारका बेला कठोर राणाशाहीका डरका कारण परिवारका एकदुई जनाबाहेक शुभेच्छुकहरू उपस्थित हुन पाएनन् ।

(चन्द्रमणि गौतमको फेसबुकबाट साभार )
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्