सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
अठारह पुराणमा गरुड महापुराणको अलग्गै विशेष महत्त्व छ। यस पुराणका अधिष्ठातृ देव भगवान् विष्णु भएकोले, १९ हजार श्लोक युक्त यो पुराण वैष्णव सम्प्रदायसित सम्बन्धित छ । तर हाल यसमा सात हजार श्लोक मात्र उपलब्ध छन् । गरुडको माध्यमले भगवान विष्णुको मुखबाट मृत्यु उपरान्तका गूढ तथा परम कल्याणकारी वचन भनिएकोछ । यसकारण ‘गरुड पुराण’ भनिएको हो, जसलाई 'गारुडी विद्या' पनि भन्छन् । यस पुराणको ज्ञान सर्वप्रथम ब्रह्माजीले महर्षि वेद व्यासलाई प्रदान गरेका थिए। तत्पश्चात् व्यासजीले आफ्नो शिष्य सूतजीलाई तथा सूतजीले नैमिषारण्यमा शौनकादि ऋषि-मुनिलाई प्रदान गरेका थिए ।
हिन्दु धर्ममा मृत्यु भएर सद्गति गरेपछिका १३ दिनभित्र यो पुराण वाचन-श्रवण गरिन्छ । यसमा आत्मज्ञानको विवेचन, भक्ति, ज्ञान, वैराग्य, सदाचार, निष्काम कर्मको महिमाका साथ यज्ञ, दान, तप तीर्थ आदि शुभ कर्ममा सर्वसाधारणलाई प्रवृत्त गर्न अनेक लौकिक र पारलौकिक फलको वर्णन, साथै आयुर्वेद, नीतिसार आदि विषयका वर्णन एवं मृत जीवको अन्तिम समयमा गरिने कृत्यको सविस्तार निरूपण गरिएको छ । यस पुराणमा विष्णुको २४ अवतार र विष्णु-भक्तिको सविस्तार वर्णन छ। आरम्भमा मनुदेखि सृष्टिको उत्पत्ति, ध्रुव चरित्र र बराह आदित्यको कथा छ। साथै सूर्य र चन्द्र ग्रह, शिव-पार्वती, इन्द्र, सरस्वती का मन्त्रहरू लगायत नौ शक्तिकाे सविस्तार वर्णन छ। श्राद्ध-तर्पण, मुक्तिको उपाय तथा जीवको गतिको विस्तृत वर्णन पनि छ। पहिलो भागमा विष्णुभक्ति र उपासना विधि तथा दोस्रो भागमा प्रेत कल्प र विभिन्न नरकमा जीव पर्ने वृत्तान्त छ। मरेपछि मनुष्यको के गति हुन्छ, उसको कुन योनिमा जन्म हुन्छ, प्रेत योनिदेखि मुक्त कसरी पाइन्छ, श्राद्ध र पितृ कर्म कुन तरहले गर्नुपर्छ तथा नरकको दारूण दु:खबाट मोक्ष पाउने उपाय यसमा सविस्तार वर्णन छ । कथा : महर्षि कश्यपका पुत्र पक्षीराज गरुडलाई भगवान् विष्णुको वाहन मानिन्छ । एक पल्ट गरुडले भगवान विष्णुसित मृत्युपछि प्राणीको स्थिति, जीवको यमलोक-यात्रा, विभिन्न कर्मसित प्राप्त हुने नरक, योनी तथा पापीको दुर्गतिसित सम्बन्धित अनेक गूढ एवं रहस्ययुक्त जिज्ञासा शान्त गर्दै विष्णुले ज्ञानमय उपदेश दिएका थिए, त्यो उपदेश नै यो पुराणको मूल विषयवस्तु हो ।
( चन्द्रमणि गौतमको फ़ेसबुकबाट साभार )
(विकिपीडिया तथा पं. जानकीराज मिश्रले दिएको जानकारीको आधारमा)