सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
गलत वा दुरुपयोग प्रयोजनका तर्क वा अनुकरणको लागि कसैले पनि प्रस्तुत सामग्री कृपया नपढ्नु उत्तम होला । हाम्रो लोकोक्ति नै छ, “बौलाहा झारको धुँवा (गाँजा) खाने, कुहाएको अन्नको झोल (रक्सी) खाने, कीराका हड्डी मुठ्याएर भाग्य खोज्ने (जुवाडे) को बोलीमा भर हुँदैन ।” यहाँ प्रस्तुत रक्सीको बयान जँड्याहावाजीलाई प्रोत्साहन दिनको लागि होइन, मद्यपानका सौखिनहरूले स्वास्थ्य, परिवार, आर्थिक हैसियत, कामको लय, नैतिकता र सामाजिक अनुशासन पालन गरेर भाईचारा बढाउन लिप्त नभएर कहिलेकहीं पिउने (Social drinker) हरूसँग जानकारी र संवाद तथा सामान्य ज्ञानका पारखीलाई ध्यानमा राखेर लेखिएको हो । इशापूर्वदेखि नै परिवार प्रथाको प्रारम्भ र खानाको परख र प्रयोग गर्नथाले सँगसँगै मानिसले रक्सीको चलन गरेको र सम्पत्ति, सुरा र सुन्दरीको चेतना एकसाथ बढेको पाईन्छ । ई.पू. ७००० वर्षदेखि सेवनमा आएको दावी गरेका पश्चिमाहरूले अंगुरबाट बनाईने वाईनलाई सबभन्दा पुरानो पेय मानेका छन् । नेपालमा ऐंसेलु, सिस्नु आदिजस्ता वनस्पति र फलबाट पनि वाईन बनाउन थालेका छन् । ऋग्वेदको नवौं मण्डलमा ११३ वटा सूक्त सोमरसको बारेमा लेखेको पाईन्छ । तर आजको रक्सी सोमरस होइन, गलत अर्थ लगाईंदैछ । एक मन्त्रमा सोम भनेको बलबर्द्धक तथा साहस बर्द्धक एक वनस्पति वा लहरालाई बुझाएको पाईन्छ, “बर्हिः प्रत्वीनमोजसा, पवमानः स्तृणान् हरिः देवेषु देव ईयते (सूक्त ९–५–४) ।” सातौं शताब्दीमा प्राचीन आयुर्वेदका कविराज तथा ‘अष्टाङ्ग संग्रह’ र ‘अष्टाङ्गहृदय संहिता’ का लेखक वाग्भट आफैंले बनाएको रम, वाईन र आँपको रस मिलाएर पिउने गर्थे भन्ने विवरण पनि पाईयो । संस्कृतका कतिपय विवरणमा उखुको रसलाई अल्कोहलाईजेसनको प्रक्रियामा अमिल्याएर ‘शिधु’ बनाउँथे भनिएको छ ।
चीनमा छिङ् राजवंशकै पाला (१६४४) देखि उत्पादन हुँदैआएको भनिने विश्वमै चर्चित ‘माओताई’ वा ‘मौताई’ रक्सी आज आएर २००७ मा ६ हजार आठसय टन बिक्री भएछ । २०१५ मा यसले विश्वको सबभन्दा उत्कृष्ट मदिराको रुपमा स्वर्ण पदक पाएपछि दुुनियाभरिको ध्यानाकर्षण हुनथालेको देखिन्छ । दैत्यहरूका गुरू शुक्राचार्यले असुरहरूलाई मदिरा पिउने बाटो खुलाईदिंदै दिएको तर्कयुक्त नैतिक शिक्षा– प्रतिभां बुद्धिवैशद्यं धैर्य चित्तविनिश्चयम्, तनोति मात्रया पीतं, मद्यमन्यद् विनाशकृत ।। अर्थ : थोरैमात्रामा मदिरापान गर्नाले प्रतिभा र बुद्धिको विकास हुने तथा धैर्य र चित्त शान्त हुने, तर अनियन्त्रित रुपमा अत्यधिक मदिरापान गर्नाले बौद्धिक ह्रासका साथै विभिन्न विनाश निम्त्याउँछ । चीनमा मङ्गोल वंशको विशाल साम्राज्य संस्थापक र प्रख्यात लडाकू चङ्गेज खाँ (११६२–१२२७) रमाईला कुरा गर्ने र चेतना दिने काम पनि गर्दथे । जस्तै– “कसैलाई रक्सी पिउनु नै छ भने महिनाको तीन पटक पिओस्, त्योभन्दा बढी खराब हुन्छ । महिनामा दुईपटक पिउँदा अझ राम्रो । महिनाको एकपटकमात्र पिउनु त झनै राम्रो । कोही रक्सी नै पिउँदैन भने त्यो सबभन्दा उत्तम (बानी) हो” (If one must drink, then let one drink thrice a month, for more is bad. If one gets drunk twice a month, it is better; if one gets drunk once a month, that is better still; and if one doesn't drink at all, that is the best of all.)। पीत्वा पीत्वा पुनः पीत्वा, यावत् पतति भूतले । उत्थाय च पुनः पीत्वा, पुनर्जन्म न विद्यते ।। अर्थात, पिऊ–पिऊ बारम्बार पिऊ जबसम्म जमिनमा पछारिंदैनौ । जो उठेर फेरि पिउन थाल्छ, त्यसको पुनर्जन्म हुँदैन, भन्दै ‘तन्त्रराज तन्त्र’ मा भूमितत्वको मूलाधारमा अवस्थित कुण्डलिनीको सहस्रारमा उठेर परमशिवसँग विचरण गर्ने कुराको वर्णन चार्वाक नीतिमा पनि पाईयो है ! २०१८ को तथ्याङ्कअनुसार बेलायतको स्कटल्याण्डमा मात्र १३३ वटा डिस्टिलरी कम्पनीहरू छन्, ती सबैले ‘स्कच ह्विस्की’ उत्पादन गर्छन् । रसियामा गहुँ, मकै, आलु, र आजकालको प्रोसेसिङ्मा केही फलफूल मिसाएर बनाईएको, रुसी भाषामा पानीलाई ‘भादा’ भनिने ‘अलिकति पानी’ (भोद्का) मिसाएर बनाईने प्रविधिको कारण रुसीहरूको नामुद उत्पादन ‘भोड्का’ संसारभरि चर्चित छ । इतिहास हेर्दा भोड्काको उत्पादन १४०५ (छःसय वर्षअघि) देखि भएको देखिन्छ । पास्ता, समुद्री खाना (sea food) आदि कतिपय खाना पकाउँदा भोड्का पनि हालेर चर्चित खाना बनाउने गर्छन् कतिपय सेफहरू । जीन, जुनीपर बेरीबाट बनाईने भएकोले यो नाम रहन गएको र सर्वप्रथम १३ औं शताब्दीतिर औषधीय प्रयोजन (हामीकहाँ मृतसञ्जीवनी सूराजस्तै) का लागि इटलीका उपचारकहरूले बनाए । कालान्तरमा युरोपेली मुलुकमा यो पेय पदार्थका रुपमा लोकप्रिय भयो र ब्यापारिक प्रयोजनमा गएको हो । लन्डन जीन बनाउने सामग्री चाहिँ फरक छन् । अमेरिका र क्यारेबियन मुलुकहरूले मकै, उखु जस्ता सामग्रीबाट रम बनाए । जो पछि भारत र फिलिपिन्स जस्ता मुलुक पनि यसका चर्चित उत्पादक बन्न पुगे । अमेरिकामा रमको उत्पादन मकैको अत्यधिक उत्पादनलाई ढुवानी र बजारको समस्या भएपछि रमको रुपमा उत्पादन गरेर बिक्री गर्ने गरिएको देखिन्छ । ब्राण्डी, १५ औं शताब्दीदेखि उत्पादन र सेवनमा आएको मानिने, रातीको खाना (डिनर) पछि हल्कारुपमा पिइने, सुत्केरी, सर्दी लागेका बिमारीलाई पनि सेवन गर्न दिइने पेय हो । फ्रान्सको ‘कोन्याक’ र ‘अरमान्याक’ आदि नामुद ब्रान्डी मानिन्छ । अप्रशोधित वाईनलाई प्रोसेस गरेर ब्रान्डी बनाउँछन् ।
( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )