SSI SSI
SSI SSI

यो सारा संसार, सृष्टि र जिन्दगी नै ताल र सुर (rhythm) मा अडेको छ : अम्बर गुरुङ्


नेपालको राष्ट्रगानका संगीतकार अम्बर गुरुङ् (वि.स.१९९४–२०७३) लाई नेपाली स्वर, संगीत, सूर र ताल (rhythm) जगतका शिखरपुरुष हुन् भनेर चिनियो भने अतिशयोक्ति नहोला । उनले संगीत भरेको वर्तमान राष्ट्रगान विश्वका नवौं उत्कृष्ट राष्ट्रगानमा पर्ने, सन् २००८ मा सम्पन्न बेईजिङ् ओलम्पिक खेलको क्रममा चिनियाँहरूले गरेको विश्वका सबै राष्ट्रगानहरूको क्रममा मूल्याङ्कन गरेका थिए ।
कुनै जमानामा गोरखाको रिसिङ्बाट भारतीय सेनामा भर्ना भएका देवराज सेनाबाट अवकाश पाएपछि दार्जिलिङ्गको मिलिङ् कमान, लालढिकीमा स्थायी बसोबास गर्न थाले । उनै देवराजका नाती हुन् यी सम्मानित संगीतकार तथा संगीत गुरू, जो पिता उजीरसिंह र माता रेणुकाबाट दार्जिलिङ्गमै जन्मे । फौजी पारिवारिक पृष्ठभूमी भएका अम्बरलाई संगीतमा नलाग्न सेनामा भर्ती हुन जोड भएको थियो ।


करिब ६ दशकअघि २०१८ सालमा दार्जिलिङ्गका कवि तथा प्रधानाध्यापक अगमसिंह गिरि (वि.स.१९८४–२०२८) को रचनामा २६ वर्षे अम्बरले एउटा गीत स्वयंले संगीत भरेर गाए, ‘होऽऽऽ नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ / शरद लाग्यो वनैमा फूलले पिरती गाँसेछ......’ ‘मरिजाउँ, यो गीत निजी सोखमा गाएको थिएँ, यति पपुलर होला भन्ने ठानेकै थिइनँ.....!’ अन्तरवार्तामा उनले यसै भनेका छन् ।अम्बर स्वयं पनि संगीत विधाका राम्रो लेखक थिए, केही उत्कृष्ट कृति तथा लेख-रचना दिए ।
'नौलाख तारा...' गीतलाई नेपालबाट सम्वोधन गरेको रुपमा अर्को गीत बज्न थाल्यो, पुष्प नेपालीको स्वरमा, ‘फर्क हे फर्क नेपाली, तिमीलाई डाक्छ हिमाल /आमाको माया बराबर तिम्रै हो नेपाल उज्वल.....!’ भारत–चीन युद्ध (सन् १९६२) मा गोर्खाली सेना परिचालन गरेपछि चिनियाँ सेनाले सीमानामा यही गीत घन्काईदिएर गोर्खाली सेनालाई भड्काउने प्रयास पनि गरेछ ।
‘नौलाख तारा’ गीत नेपाल, भारत लगायत संसारभरिका नेपाली समाजमा अति लोकप्रिय त भयो । तर गीतको बोलले गर्दा अल इन्डिया रेडियोले प्रशारणमा रोक लगाईदियो । गीतकार अगमजीलाई पनि केही ब्यावहारिक अड्चन पर्यो कि, ‘नजाऊ फर्की नेपाल, उठेर भन्छ देउराली / फर्केर हेर न मुग्लानको मायालु पाखा चियाबारी...’, / र ‘नडाक हिमाल हामीलाई अस्तित्व हाम्रो बिलाउँछ / नडाक पहाड–पखेरो जातित्व हाम्रो निदाउँछ / आँसुको माया छरेर गण्डकी–कोसी नडाक / लेकाली डाँडा नडाक महाकाली मेची नडाक / हामीले यहाँ हेर्नुछ, ब्युँझेको नौलो बिहानी– सुन हे सुन नेपाली....!’ जस्ता कविता रचना गरे ।
लेखक तथा सम्पादक उत्तम कुँवर (वि.स. १९९५–२०३८) को प्रयासमा २०२५ सालमा पहिलोपटक नेपाल आएका अम्बरले राजा महेन्द्रलाई भेट गरे । राजाको आग्रह थियो नेपालमै स्थायी रुपले बस्न । दोस्रो पटक २०२६ सालमा नेपाल आगमन पछि शुरूका दिनहरू ज्यादै दुःखले बिताए अम्बरले; भन्छन्, “घरमा खानेकुरा थिएन, बच्चाहरूले खानेकुरा मागिरहेका छन्, तर दिन सकिएको थिएन । तै पनि म संगीतबाट एकचोटी पनि विमुख भईनँ.....।" संगीतकार रतन गजमेरकी बहिनीसँग बिहे गरेका अम्बर तीन छोरा, किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता हुन् ।


“घटनाहरूले नै मलाई संगीत सिकाएका हुन्” भन्ने गरेका अम्बर संगीतलाई कलामात्र होइन विज्ञान नै हो, तर हामीले यसलाई विज्ञानको रुपमा हेरेनौं भन्ने यिनको मान्यता छ । नेपालमा राष्ट्रिय अर्केष्ट्रा बनाउने उनको धोको अधुरै रह्यो । यो अधुरा इच्छा गायक नारायण गोपाल र संगीतकार गोपाल योञ्जनको पनि थियो । २०७३ साल जेठ २५ गते उच्चरक्तचाप, मधुमेह, निमोनिया र पार्किन्सन रोगको कारण काठमाडौंको ग्राण्डी अस्पतालमा ७९ वर्षको उमेरमा यी महान् संगीत गुरूको निधन भयो ।
__________
(०६६ असारको पहिलो साता पत्रकार विजयकुमारसँग ‘दिशानिर्देश टीभी’ मा गरेको अन्तर्वार्ता युटुब, विकिपिडिया र निजी नोटको आधारमा ।)
( चन्द्रमणि गौतम को फेसबुक बाट साभार )

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्