SSI SSI
SSI SSI

चित्तको मोह गर्ने सस्कारले गर्दा वेदना र सज्ञा र शरीर फरक भएको हो

पहिला भनिए जस्तै हाम्रो पञ्च इन्द्रियद्वारा चित्तले बाहिरी बस्तुहरू ग्रहण गर्छ र चित्तलेनै त्यो ग्रहण गरिएको बस्तुको छापलाई मन परेको, मनपरेको भनेर अनुभव गर्ने र सज्ञा दिने काम गर्छ आफ्नो सस्कार/भोगाई/बानि अनुसार। बस्तु चित्तले ग्रहण गर्नु भनेको बस्तुको, चित्तको र त्यस बस्तुसॅंग सम्बन्धित इन्द्रियको स्पर्श (६ निदान) हुनु हो। स्पर्श हुनासाथ वेदना हुन्छ, वेदना हुनासाथ त्यो बस्तु प्रतिको भोग/प्यास/इच्छा/तृष्णा जाग्छ र हामीले चित्त, वाक र शरीरबाट कर्म गर्न थालिन्छ जुन कुशल वा अकुशल जे पनि हुन सक्छ जसलाई उपादान (नवौ निदान) भनिन्छ। क्रियाले हाम्रो ब्यक्तित्वको/अस्तित्वको निर्माण गर्छ जस्लाई भव (दशौ निदान) भनिन्छ। जस्तै धेरै रिसाउनेको चित्तलाई त्यो रिसले नरकमा डडाइरहेको नरक वासिको जस्तो वा धेरै लोभ गर्नेलाई जहिले पनि खाना पानीको अभाव भएको जस्तो अवस्थाको निर्माण ।

तेश्रो निदानमा देखाइएको सस्कार पनि बारम्बार गरिएको कर्मले गर्दा चित्तको वासना/बानिलाई जनाउछ भने नवौ निदानमा देखाएको भवले त्यो बानिद्वारा खडा भएको/बनेको अस्तित्व/व्यक्तित्वलाई जनाएको हो। चित्तमा हुने द्वेष, राग, मोह, ईर्ष्या र अभिमान जस्ता ५ प्रमुख क्लेशहरू का आधारमा ६ लोकलाई नरक, प्रेत, पशु, मानव, दानव र देवलोक भनेर सज्ञा/नामाकरण गरिएको हो। यी ६ लोकमा कस्ता दु:ख भोग्न पर्छ भन्ने अनुभव त हामीले केहि क्षणका लागि भएपनि यहि मनुष्य जुनिमानै भोगिसकेका छौ, होइन र?

उदाहरणको लागि एउटा कमिला र आफुलाई नै दाज्नुस्। कमिलाको चित्तपनि चित्त हो, त्यहि भएर कमिलालाई थाहा हुन्छ कि गुलियो कहा पाइन्छ र लाम लागेर गुलियो तिर लाग्छन्, कति कमिलाले चिनि बोकेर लहरै हिडेको पनि देख्नु भएको होला। कमिलाको भाषा हामिले नबुझेर र तिनिहरूको रहन सहन हाम्रो जस्तो नभएर के भो त बच्चा त तिनले पनि जन्माउछन्, डर तिनिहरूमा पनि हुन्छ। अब कमिलाको शरीर र आफ्नो शरीर दाज्नुस्। नेपालिमा एउटा उखान छ नि, कमिलालाई मुताहा पहिरो। किनकि कमिलाको शरीर यति सानो छ कि तपाईले खुलामा गरेको पिसाबले उनिहरूको लागि बाढि/पहिरो रूपि दु:ख ल्याई दिन सक्छ ।

तपाईको चित्त र कमिलाको चित्तमा चेतना गर्ने प्रकृयाको आधारमा हेर्दा कुनै फरक छैन। तर चित्तको मोह गर्ने सस्कारले गर्दा वेदना र सज्ञा र शरीर फरक भएको हो। मोहले गर्दा एउटा विज्ञान मानिसको गर्भमा प्रतिसन्धि गर्यो अर्कोले कमिलाको र दुईटा छुट्टा छुट्टै लोक सृजना भयो ती दुई विज्ञानको लागि जस्ले गर्दा एउटाको पिसाब अर्कोको लागि बाढि बन्न पुग्यो। यहि हो कर्मको फलले गर्दा खडा भएको लोकको विचित्रता। यसरीनै ६ लोकहरू खडा भएका छन् भगवान बुद्धका अनुसार। १२ निदानको दशौ निदान (भव)ले यहि भवको सागर अर्थात लोकलाई जनाएको हो जस्लाई विस्तारमा बताउन काम धातुका ६ लोकले चित्रण गरिएको हो। यहि जन्मिने कुरालाई जाति (११ निदान), कमिलाको जाति, मनुष्य जाति भनेको हो। यहि बारम्बार जन्म बुढौलि मृत्यु, जन्म बुढौलि मृत्यु हुदै बारम्बार फन्को मारिरहने कुरालाई जाति जरामरण (११ र १२ निदानहरू) ले जनाएको हो। यहि कुरा र यो भव चक्रलाई कसरी टुटाल्ने त्यो नजान्नुलाई अज्ञानता (पहिलो निदान) भनिएको हो।

आचार्य शान्तिदेवले यो श्लोकमा तृष्णा द्वारा खडा हुने भवसागरको नै कुरा गर्नु भएको हो। यहि भव चक्रलाई बुझ्न र टुटाउन शमथ र प्रज्ञाको अभ्यास गर्ने हो। शमथको अभ्यास गर्नको लागि कुनै एउटा बस्तुमा ध्यान टिकाइन्छ। त्यस्को लागि त्यो बस्तुलाई राम्रोसॅंग हेरेर त्यो बस्तुको कल्पना (visualise) गरिन्छ चित्तमा। यस्तो गर्दा शुरूमा चित्त त्यो बस्तुको छविमा धेरै बेर टिक्न सक्दैन अर्थात छवि हराईहाल्छ, किन कि चित्तको वादरको जस्तो यताबाट उता उताबाट यता उफ्रिरहने बानि छ अर्थात कहिले यस्लाई पिजाको त कहिले ममको त कहिले प्रिय/प्रियसिको यादले डुलाई राख्छ। उफ्रिदा उफ्रिदा थाकेर निदाई हाल्ने बानि पनि छ। त्यहि भएर चित्तरूपि बादरलाई स्मृति रूपि डोरीले बाधेर सम्प्रजन्यरूपि अंकुश लगाई राख्नु पर्छ। यस्तो गरिरहदा अभ्यासिले हरेस खाएर "मैले त ध्यान गर्न सक्दिन" भन्ने भाव लिएर आलस गर्न थाल्न पनि सक्छन्। यस्तो भएमा पनि पुन: स्मृति रूपि डोरीले चित्तलाई कसेर सम्प्रजन्यरूपि अंकुश लगाई हाल्नु पर्छ। यहि कुरालाई चित्रण गरेको हो तेश्रो चित्रले। यो अभ्यासिहरूको पहिलो चित्त अवस्था हो।

यहा हातमा अंकुश र डोरी लिएको मानिसले स्मृति र सम्प्रजन्यले युक्त अभ्यासिलाई जनाएको हो। हात्ति चित्तनै हो तर शिथिल छ त्यहि भएर कालो छ। चित्तको बादरको जस्तो एउटा सोचबाट अर्को सोचमा भागि रहने प्रवृति हो जस्ले गर्दा यो समुन्द्रमा छाल उठेको जस्तो उत्तेजित हुन्छ, जसलाई कालो रॅंगले जनाउछ। दन्किरहेको आगोले घरि घरि चित्त ध्यान बस्तुको छविबाट टाढा नभट्कियोस् भनेर स्मृति र सम्प्रजन्यको कोशिश/वललाई जनाउछ भने कपडाले प्रेमि/प्रेमिकाको शारीरिक सुख जस्ता काय सुखको बस्तुहरू जनाउछ जस्ले चित्तलाई ध्यानबाट बिचलन गराईरहेको हुन्छ।

यो पुण्यले गर्दा,

सबै सत्वहरूलाई पारम्परिक, आधिकारिक गुरूहरू र कल्याण मित्रहरूको सानिध्य प्राप्त होस् र सम्यक ध्यान गर्ने प्रेरणा मिलिराखोस् ।

(बबिता गैह्रेको फेसबुकबाट साभार )

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्