SSI SSI
SSI SSI

पुस्तान्तरणमा एनआरएनए अस्ट्रेलिया, अवसरसँगै चुनौती

सन् २००३ मा बेलायतको लन्डनबाट विश्वभरि छरिएरका नेपालीलाई एकत्रित गरी सम्वृद्ध नेपाल निर्माणमा टेवा पुर्‍याउने र साझा मुद्दालाई सम्बोधन गर्न र गराउन सम्बन्धित पक्षसँग पहल गर्ने उद्देश्यका साथ 'नेपालीका लागि नेपाली' भन्ने मूल नारा लिएर गैर आवासीय नेपाली सङ्घको स्थापना भएको हो।

हाल यो अभियान विश्वको ८० भन्दा बढी देशमा फैलिएको छ। तिनै मध्ये सबैभन्दा बढी सदस्य भएको देश हो, अष्ट्रेलिया।

हालै (जुलाई २९) मा सम्पन्न निर्वाचनबाट एनआरएनए अस्ट्रेलिया नेतृत्व नयाँ पुस्ताको काँधमा आएको छ। यो सँगै निरास रहेका प्रवासीमा केही आशाका किरणहरू छाएका छन्।

सन् २००५ मा मन केसीको नेतृत्वबाट सुरू भएको एनआरएनए अस्ट्रेलिया आज आएर अनिल पोखरेलजस्ता युवा टिमको नेतृत्वसम्म आइपुग्दा अनेकौ उतारचढाव खेपेको छ। विभिन्न अफ्ठ्यारा र राजनीतिक दलको चेपुवामा परेको विसुद्ध सामाजिक संस्थालाई आफ्नो लयमा फर्काउन यो टिमलाई जिम्मेवारी आएको छ।

गैर राजनीतिक यो संस्थालाई  केन्द्रदेखि कुनै न कुनै राजनीतिक राप र तापबाट प्रभावित बनाइदै आएको यथार्थ सबैले बुझेको छ। संस्थाको मूल उद्देश्य र लक्ष्य एकातिर राखेर राजनीतिक नेतृत्वले छानेको उम्मेद्वारालाई जिताउनुपर्ने बाध्यता यो पटकको निर्वाचनपछि हटेको देखिन्छ।

प्रवासमा रहेका नेपालीको साझा संस्था अब पनि हरेक प्रवासी नेपालीको दुःख सुखको साथी बन्नुपर्नेछ। आफ्नो स्थापना कालदेखि हालसम्म सामाजिक र कल्याणकारी क्षेत्रमा गर्दै आएको कार्य प्रसंसनीय छ । जन्मभूमि  नेपालमा प्राकृतिक प्रकोप होस् या माहामारीको बेला होस् जुरुक्क उठाएर खुरुक्क आर्थिक तथा भौतिक सहयोग जुटाउने कार्यमा खेलेको भूमिकाप्रति जो कोहि नतमस्तक हुने गर्दछ ।

'एक पटकको नेपाली सधैको नेपाली' भन्ने अभियानलाई कार्यान्वयनको तहमा पुर्‍याउन अबको नेतृत्वले आफ्नो भूमिकालाई थप सशक्त र फराकिलो बनाउदै लैजानुपर्ने देखिएको छ।  यसका लागि यो अभियानमा जोडिएका सबै तह र तप्काका  सदस्यहरु साथमा साथ् र हातमा हात मिलाएर अगाडि बढ्नुको कुनै विकल्प देखिदैन।

हो, हामीसँग आपसी वैमनस्यता ,खिचातानी र असमझदारी हुन सक्ला तर संस्थाले लिएको लक्ष प्राप्त गर्न ती तिता र नमिठा  पाटोलाई पन्छाउनै पर्छ। निर्वाचन भनेको एउटा प्रजातान्त्रिक प्रक्रिया हो यसमा भाग लिएपछि हार र जीत हुन्छ भन्ने सर्बोपरि सिद्धान्तलाई हृदयदेखि नै स्वीकार गरेर उपविजेताहरु पनि बिजेताहरुको अभियानलाई साथ दिएर हाम्रो समाजमा सकारात्मक सन्देश दिनेछन भन्ने विश्वास यहाँको नेपाली समाजले लिएको छ।

मैले समाज बनाउँछु, मैले समाजको लागि केही गर्नुपर्छ र त्यसको लागि म संस्थाको नेतृत्व तहमा पुग्नुपर्छ भनेर निर्वाचनमा जो जो उभिनु भयो उहाँहरू सबैलाई हार्दिक नमन भन्नैपर्छ।  खुनसँग नुन साटेर बाच्नुपर्ने परदेशमा आफ्नो समय ,परिवारको समय काटेर आफ्नो गोजीको द्रब्य खर्चेर सफा हृदयका साथ समाजको लागि केही गर्छु भनेर हिँड्नेहरू बास्तबमै सम्मानका हकदार हुन्।

चुनाब ताकाका तितामिठा कुरा बिर्सेर अब यो सस्थालाई आफ्नै लयमा लैजान अनिल पोखरेल नेतृत्वले मुख्य भूमिका खेल्नुपर्छ। संस्थाको दुई कार्यकाल कोषाध्यक्ष हुँदा  बनाएको कदलाई झुक्न नदिन उनले आफ्नो टिमलाई चुस्त अनि दुरुस्त रुपले परिचालन गर्नुपर्ने देखिन्छ।

संस्थाको नेतृत्वमा पुग्नको लागि जे पनि गर्ने र पुगिसकेपछि सिन्को नभाच्ने प्रवृत्ति कदापी हाबी हुनु हुँदैन। एनआरएनए अस्ट्रेलियाले आफ्नो दुई दशकको यात्रा तय गर्दै गर्दा हालसम्म पनि यो संस्थाको आफ्नै एउटा कार्यालय नहुनु बिडम्बना को विषय हो।

अहिलेसम्म पनि संस्थालाई झोलामा बोकेर हिड्नुपर्ने लाजमर्दो स्थितिको अन्त्यका लागि अनिल नेतृत्वले भवन खरिद वा निर्माणका लागि केही न केहि गर्नैपर्छ। 

एनआरएनए अस्ट्रेलियाले गणेश के सी र महेन्द्र ओलीको पालादेखि संचालनमा ल्याएको सामाजिक कल्याणकारी कोष, विद्यार्थी कोष जस्ता कल्याणकारी कार्यलाई निरन्तरता दिएर अझ बढाउदै र बिस्तार गर्दै लैजानेतर्फ ध्यान पुर्‍याउनु बुद्धिमानी ठहरिन्छ ।

करिब दुई लाखको हाराहारीमा नेपालीको बसोबास रहेको अस्ट्रेलियामा लगभग २० हजारको संख्यामा संस्थाको सदस्य बनेको अमिलो यातार्थतालाई चिर्दै संस्थामा धेरै भन्दा धेरै सदस्यहरुको आवद्धता गराउनेतर्फ मिहिन ढंगले सोच्नुपर्ने बेला भएको छ।

एनआरएनए सबैको साझा सस्था हो यसले यहाँको नेपाली समाजमा खेल्दै आएको भूमिकाप्रति कसैले चोर औला उठाउन सक्दैन। यति हुँदाहुँदै पनि यो सस्थाप्रति किन मान्छेको आकर्षण बढ्न सकेको छैन? त्यसतर्फ सम्बद्ध सबैको ध्यान पुगोस्।

नेपाल आउनासाथ कानून मान्न नपर्ने, अमूक दलको कार्यकर्ता बन्नैपर्ने रोगबाट यो नेतृत्व मुक्त भएन भने भरोसा पनि गुम्ने निश्चित छ । त्यसैले गैरआवासीय नेपालीहरुले आफूलाई अमूक राजनीतिक दलको कार्यकर्ता नभएर नेपाली बनाउने प्रयत्न गर्नुपरेको छ।

चुनावमा जे भयो, त्यसलाई बिर्सेर मातृभूमिको सेवासँगै विशुद्ध गैरराजनीतिक संगठन बनाउन अहिलेको नेतृत्वले पहल कदमी गर्नुपर्ने देखिएको छ। नेपालको विकृत राजनीतिले कटुता बढाउने बाहेक केही गर्दैन । त्यसैले  अनिल नेतृत्वको टोलीले एनआरएनको भावनामा शुद्धिकरणको अभियानलाई प्राथमिकता दिनुपर्ने भएको छ।

अर्को तर्फ आप्रवासीको पहिलो पुस्ताको लागि मात्र नेपालसँगको सम्बन्ध आवश्यकता होइन । हाम्रो दोस्रो, तेस्रो गर्दै हरेक पुस्ता नेपाली माटो सँग जोडिनु पर्छ र जोडिन पाउनु पर्छ भन्ने चाहाना पनि हो । विश्व ग्लोबलाईजेसनको युगमा हाम्रा सन्ततिको सम्बन्ध नेपाली माटोसँग जोडिनको लागि पनि गैर आबसिय नेपाली सङ्घ सँग हाम्रो युवा पुस्ता हरेक पहिलामा जोडिनु पनि उत्तिकै जरुरी छ ।

संस्था यस्तो बनोस कि संस्थामा आबद्धता होउ होउ, संस्थाले चालेका हरेक गतिविधिमा सकेको साथ र सहयोग गरौं गरौं र यहीँ सस्थामार्फत समाज, कर्मभूमि र जन्मभूमिका लागि केही गर्न सकौं।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्