SSI SSI
SSI SSI

धान्य पूर्णिमा/य:मरि पुन्ही/ज्यापु दिवस र उँधौली पर्वको साँस्कृतिक महत्व

 

उधौली पर्व !

पुरानो नेपालको शासकीय संरचना अनुरुप 'वल्लो किरात' प्रदेशका सुनुवार, 'माझ किरात' प्रदेशका राई, र 'पल्लो किरात' प्रदेशका लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो- उँधौली पर्व । उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली सकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।

किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाललगायतका जातिहरू पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्नै मौलिक तरिका छन्। नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको आधारमा, भूमिपुत्र किरात समुदायको यो पर्वले पर्यावरणसँग तादात्म्य राखेको छ ।

मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने काल-सङ्केत वा ऋतु परिवर्तन अनुरुप, अन्नबाली भित्र्याइएको खुसीयालीमा, आफ्नो इष्ट देवतालाई नया अन्न (न्वागी) चढाउने, खानका लागि अनुमति माग्ने र पितृलाई सम्झना गरेर प्रकृतिपूजाको रुपमा मनाइन्छ।

उधौली पर्व र पूजामा कुखुरा, सुगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायत सामग्री आवश्यक पर्छ । परम्परा अनुसार किराँती धर्मगुरु (बिजुवा/नक्छुङ/कुबि) ले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा नौसिङ्गे कुखुराको भालेको बलि दिने गर्छन् । सो बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ ।

लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् । हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।

किरात धर्म तथा संस्कृति नेपालको ठूलो सम्पदा हो, जसको जगमा नेपाली पहिचान र सभ्यता खडा छ।

हार्दिक बधाई तथा शुभकामना समस्त किरात दिदीबहिनी दाजुभाइमा !

* * * *

य:मरि पुन्ही/ज्यापु दिवस/धान्य पूर्णिमा !

धान्य पूर्णिमाको दिन पर्ने नेवार समुदायको 'य: मरि पुन्ही' बारे एउटा लोककथाबाट कुराको थालनी गरौं-

पाञ्चाल देशमा सुचन्द्र नामक मनकारी साहु बन्द-व्यापार गरी बस्दथे। ती दम्पतिको परोपकार र दानधर्ममा कत्तिको विश्वास रहेछ भन्ने कुरा बुझ्न, धनधान्य र सम्मृद्धिका देवता कुबेरलाई मन लागेछ र परीक्षा लिन उनी दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा गए । घरमा आएर एकदमै दरिद्र मानिसले भिक्षा मागेपछि सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ । उनले स्वादिष्ट खानेकुरा दिएर सो भिखारीको स्वागत सत्कार गरिन् ।

सुचन्द्रकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलाई आफ्नो वास्तविक दर्शन र ज्ञान दिए र अन्तर्ध्यान भए । कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको (योमरी) रोटी बनाएर त्यही रोटीको कुवेर बनाई कुबेरले दिएको बिमिरोका साथ अन्न राख्ने भकारीभित्र राखिन् । अन्न, धन र योमरी दान पनि गरिन् ।

यसरी कुबेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्ति र दैनिक आम्दानीमा बृद्धि भयो । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको जनविश्वास छ ।

मंसिर पूर्णिमा (नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा) अथवा धान्य पूर्णिमाको दिनमा नेवार जातिले चामलको गोलो रोटी बनाई खाएर मनाउने पर्व हो योमरि पुन्ही । नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर य: मरि पुन्ही मनाउने चलन छ । धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई मानेर यःमरीलाई पञ्चतत्वको रुपमा स्वीकार गरिन्छ।

दिन नेवार समुदायभित्र कै, कृषि तथा पशुपक्षी पालनका व्यवसायी ज्यापु समुदायले ज्यापु दिवसका रूपमा यो पर्व मनाउने गर्दछन् । यस दिनको साँझमा टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ, जुन रमाईलो चलनको रुपमा लिइन्छ- "त्य: छिं त्य: बकछिं त्य:

लातापाता कुकिंचा जुसी त्य:

य:मरि च्वमु उक्या दुने हाकु

ब्युम्ह ल्यासे मब्युम्ह बुरीकुति....!"

यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य: मरि लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास छ ।

योमरी पुन्हीमा बनेपाको धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।

य:मरि पुन्ही/ज्यापु दिवस/धान्य पूर्णिमाको सुखद अवसरमा नेवार समुदाय सहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना!

( चन्द्रमणि गौतमको फेसबुक बाट साभार )

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्