SSI SSI
SSI SSI

किसुनजीका ठट्टा !

 

आफ्ना सहकर्मी वा कार्यकर्तासँग नेपालीका साथै हिन्दीमा, त्यसैगरी पत्रकारहरूसँग अँग्रेजीमा पनि, पण्डितहरूसँग संस्कृतमा र मापसे गरेका बेला प्रायः बंगाली भाषामा पनि बोल्ने बानी भएका किसुनजी ठट्टा गर्नमा माहिर हुनुहुन्थ्यो । प्रस्तुत छ उहाँका केही ठट्टाका बान्कीहरू पहिलो आधा आफ्नै नोटबुकको टिपोटका र आधाउधी नयाँ पत्रिका दैनिक (२ चैत २०६७) बाट :

गिरिजाप्रसाद– “मेरो डिक्सनरीमा इम्पोसिबल (असम्भव) भन्ने शब्दै छैन ।”

किसुनजी– “डिक्सनेरी किन्दै राम्रोसँग हेरेर किन्नुपर्थ्यो ! अहिले यहाँ भनेर के गर्नु ! कुन लद्दुको शब्दकोशमा फेला पर्नुभो !”

(०५१ जेठ २८ गते साँझ, काँग्रेसका बरिष्ठ नेताहरुलाई प्र.म.को सरकारी निवासमै खानाको आयोजनासहित जमघटमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपोलियनको भनाईलाई अनुकरण गर्दै दुई दिनअघि घोषित मध्यावधि निर्वाचनको औचित्य र काँग्रेसलाई दुईतिहाई बहुमत दिलाउने जिकिर गर्दा केही मापसे गरिसकेका र मद्यावधि चुनाबप्रति असन्तुष्ट किसुनजीले दिएको जवाफ । गिरिजाबाबुको हल्का हाँसो ।)

** **

“हाउ आर यु मिस्टर न्युज ब्रेकर ?.....तपाईंको शादी भईसक्यो ?.....अविवाहित हुनुहुँदो रहेछ र पो भुसतीघ्रामा ब्रम्हतेज बाँकी रहेकोले खबर ब्रेक गर्ने साहस आएको होला (हाँसो) !”

(२०४५ चैत १० गतेदेखि भारतले नेपालमा लगाएको नाकाबन्दीका बेला केही हप्ताको अन्तरालमा रहस्योद्घाटन गर्ने खालका ६/७ वटा राष्ट्रिय राजनीतिक महत्वका समाचार आफ्नै नाममा दिएपछि पार्टी अफिस जमलमा किसुनजी मसँग ।)

** **

“हाम्रा रामचन्द्रजी टाइम्स अफ इन्डिया पढ्न त पढ्नुहुन्छ, तर उल्टो लिएर पढ्नु हुन्छ । ए रामचन्द्रजी सुल्टोतिर फर्काएर पढ्नुहोस् न, भन्यो भने उल्टै हामीलाई भन्नुहुन्छ कि नजान्नेहरूले पो बहानाको लागि उल्टो र सुल्टो भन्ने हो !”

(सत्याग्रहको कारण बन्दी अवस्थाबाट रिहा भएपछि २०४३ सालतिर एक शनिबार लक्ष्मीको पसल बानेश्वरमा पार्टीका साथीहरूसँग चियापान जमघटको ठट्टा ।)

** **

“नेपाली काँग्रेस पार्टी हो र पाटी पनि हो ! जो सिद्धान्तवादी र इमानदार छन्, उनीहरूजस्ता जेम (रत्न) को लागि यो पार्टी हो । जो बाहिर हुरीबतास र घामपानीबाट ओतलाग्न आउँछन्, झन्झावात रोकिएपछि आफ्नो बाटो लाग्छन्, तिनका लागि काँग्रेस पाटी हो ।”

(नख्खु जेलको बन्दी जीवनमा राजबन्दी नेता तथा कार्यकर्ताहरूबीच राष्ट्रिय दिवसका कार्यक्रममा भाषण दिंदा; दाई श्री माथबरसिंह बस्नेतबाट ।)

“क्रान्तिकारी युवा नेता मार्शल जुलुम शाक्यजीको अहिले हामी ३६ औं जन्मदिवस मनाईरहेका छौं, रऽऽऽ उहाँको छत्तिसौं जन्मदिवस विगत पाँचवर्षदेखि हामी यसैगरी मनाउँदै आइरहेका छौं ।”

(सोही जेल जीवनताका, माथबर दाईबाट ।)

** **

“खोई मेरो छाता, कसले लियो ? गणेशमानजीको जस्तो जो पनि ओत लाग्ने सस्तो छाता होइन मेरो !...ल,सेँढाईं (खेमराज सेढाईं) जीले लिएको भए ठीक छ, तपाईंले पनि बोक्नेमात्र, ओढ्न पाउनुहुन्न !”

(काँग्रेस नेता अर्जुननरसिंह के.सी.का भाई ई.महेश्वरनरसिंहको विवाह (२०४८) मा गणेशमानजीसँगै गएर फर्कनलाग्दा ।)

** **

“मेरो चुनाब प्रचार बहुत राम्रोसँग गरिराछन्, तर जति प्रचार गरिराख्याछन्, यही (प्र.म. निवास) आँगनमा भईरा’छ !”

(२०४८ को आमचुनाबमा प्रधानमन्त्री र काठमाडौं–१ को उम्मेद्वार रहँदा ।)

** **

“चिठी ? अब तो हम लोगों नें इतना तपस्या करके इतना ब्रम्हतेज पा लिया है कि अब राजा को अपने पयर पर झुकाएंगे । तब, ब्राम्हण हैं, उनको आना पडेगा । वह झुकेंगे तो, ब्राम्हण हैं माफ कर दिया जाएगा । नहीं तो ब्रम्हतेज से जला सकते हैं उन को ।”

(बीपीको आत्मबृत्तान्तबाट : सुन्दरीजलमा राजबन्दी हुँदा राजालाई चिठी लेख्ने विषयमा बीपीलाई दिएको जवाफ ।)

** **

“भगवानको कृपाले हेल्थ बडा ठीक छ सरकार, म त आपूmलाई बुढो भन्नै चाहन्न, म भुतपूर्व युवक हुँ भन्छु, इनर्जेटिक नै छु ।”

(०४७ को संविधान जारी भएको दिन राजदरबारमा राजा वीरेन्द्रसँगको एक्लाएक्लै कुराकानीमा ।)

** **

किसुनजी– “सरकारको निवास त बडा सुन्दर छ भन्ने मलाई लाग्छ ।....त्यस्तो ठाउँमा बस्दा मन काव्यात्मक भइदिन्छ । त्यसैले त सरकारबाट राम्राराम्रा गीत कविता रचिबक्सेको रहेछ ।”

अधिराजकुमार ज्ञानेन्द्र : “होइन, मलाई त प्रधानमन्त्रीजी, प्रधानमन्त्री निवास पो राम्रो लाग्छ । साउण्ड पोल्युसन त्यता कम छ.......।”

किसुनजी : “उसो भए साटौँ कि सरकार ! ?”

(०४७ को संविधान जारी भएको दिन राजदरबारको एक जम्काभेटमा ।)

** **

“बीपीले होमनाथलाई कति माया गर्नुहुन्थ्यो भने उनको पत्रिकाको लागि उहाँ बुधबार नै मर्नुभयो ।”

(हरेक बिहिबार साप्ताहिक राष्ट्रपुकार प्रकाशित गर्ने काँग्रेस नेता होमनाथ दाहालसँग ०३९ मा बीपी कोईरालाको निधनपछि, पान खान न्युरोड जाँदा ।)

** **

“मैले केही लेख्ने विचार गरेको छैन, किनभने सत्य लेखौं भने मैले आफैंलाई ड्यामेज गर्छु, झुटो लेखौं भने भगवानले मलाई ड्यामेज गर्छन् ।”

(०४८ को निर्वाचनमा पराजित भएको विषयमा एक महिलालाई टिप्पणी दिंदै ।)

** **

“भारतको प्रधानमन्त्रीले फोन गरे भन्दैमा सुरुवालमा मुत्दै कुद्नु पर्दैन, खाँचो परेको भए फेरि गरिहाल्छन् ।”

(०५६ सालमा प्रधानमन्त्री भएपछि भारतका प्रधानमन्त्री अटलविहारी बाजपेयीबाट अचानक आएको टेलिफोन नउठाउन र कलब्याक नगर्न सहयोगी अमिता कपालीलाई दिएको जवाफ ।)

८८ ८८

“अभि भाईले साहित्यकारको बारेमा राम्रोमात्र कुरा गरे, तर यीसँग म पूरै सहमत छैन । फलाना–फलाना साहित्यकारले पार्टी फेरेको, चाकरी गरेको, आफ्नो लेखनको दुरुपयोग गरेको हामीलाई थाहा छैन र ?”

(एक साहित्यिक कार्यक्रममा प्रा.अभि सुवेदीलाई व्यंग्य गर्दै ।)

** **

“एक समय यस्तो आउँछ, जब निर्णय गर्नुपर्ने हुन्छ, ठगहरूसँग पौडिँदै जाने अथवा आफ्नो सिद्धान्तसँग डुब्ने ? मेरा निम्ति बडो कठीन छ । ठगहरूसँगै पौडेर ज्यान जोगाउँ भने परमात्माले मलाई मारिहाल्छन् । अनि सिद्धान्तसँग लागौं भने ठगहरूले मारिहाल्छन् । दुवै अवस्थामा म बाँच्दिनँ । तै पनि ठगहरूको हातबाट मर्नुभन्दा भगवानकै हातबाट जीवन मुक्ति पाउनु राम्रो होइन ?”

(पत्रकार विजयकुमार पाण्डेसँग ।)

** **

“हाम्रा साथीहरूलाई अस्पताल र अदालत जान नपरोस् भनी मैले आशिर्वचन दिएको थिएँ, तपाईंलाई दिएनछु कि कसो ? तपाईँ त यहाँ भर्ना हुनुभएछ”–

(०५० मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्ध संसदमा आएको अविश्वास प्रस्ताबलाई सामना गर्ने दौडधूपले गर्दा शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका काँग्रेस नेता अर्जुननरसिंह के.सी.सँगको भेटमा ।)

** **

“एक दिन मलाई अण्डा खान मन लाग्यो । बाहुनको छोरो आमाबाबुका अगाडि अण्डा खान पनि भएन । मैले हाम्रो घरमा काम गर्ने कुमारलाई दुईटा अण्डा किन्न लगाएँ । अनि परेवाका गुँडमा राख भनें । भोलीपल्ट कुमारलाई परेवाले अण्डा पारेजस्तो छ, ल्याउ त भनें अनि घरमै पकाएर खाएँ ।”

(कांग्रेस नेता रामहरि खतिवडासँग ।)

** **

“४८ वर्षे युवा मोहनचन्द्र अधिकारीजीको पनि विवाह भएपछि बल्ल मेरो पालो आएछ ।”

हिन्दु अध्यात्मवादी कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारीको २०४७ माघ २५ गते मदनपोखरा (पाल्पा) की बालकुमारी खनालसँग भएको बिवाह कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य दिंदा ।

जवाफी मन्तव्यमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी : “किसुनजीले विहे गर्ने हो भने कन्या खोजिदिने जिम्मा मेरो !”

** **

“गजुरेल होइनौ ? गाडीमा आएका हौ ? सर्वहारा नेताको गाडी छ, तर मेरो त केही पनि सम्पत्ती छैन ।”

(आफूलाई नर्भिक अस्पताल, थापाथलीमा भेट्न आएका माओवादी नेता सीपी गजुरेलसँग )

** **

“म पनि तपाईंजस्तै सक्कली अविवाहित भए पनि नक्कली कुमार हुँ ।”

(भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीलाई आफूले विवाह नगरेकोबारे टिप्पणी गर्दै।)

** **

“तपाईं माओवादी भईसक्नु भयो ? कहिले माओवादी हुनुभयो ?”

(अस्पताल भेट्न पुगेका डा.बाबुराम भट्टराईलाई सहयोगी अमिता कपालीले ‘माओवादी नेता’ भनेर परिचय गराएपछिको प्रतिक्रिया ।)

( चन्द्रमणि गौतमको फेसबुक बाट साभार )

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्