SSI SSI
SSI SSI

आज गीता जयन्ती (मोक्षदा एकादशी) गीताबारे रोचक तथ्य

 

पद्मपुराण अनुसार मार्गशीर्ष शुक्ल एकादशी, जसलाई मोक्षदा एकादशी भनिन्छ, यसै दिन कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएकोले यो एकादशी तिथि गीता जयन्तीका नामबाट पनि विख्यात छ ।

गीता, सार्वभौम दर्शनको ग्रन्थ हो, हिन्दूको मात्र नभएर समस्त मानव प्राणीको मार्गदर्शक मानिन्छ । गीता, अठार अध्याय र ७०० श्लोक रहेको ब्रेल लिपिसहित संसारका करिब ८० प्रमुखतम् भाषामा अनुदित भईसकेको र अझै अनुवाद भईरहेको, हिन्दू धर्मशास्त्रमध्येको सर्वोत्कृष्ट शास्त्र हो, जसको पूर्णनाम श्रीमद्भगवद्गीता हो ।

भगवान् श्रीकृष्णको जन्म ई.पू. ३११२ मा भएको विद्वानहरूको दावी छ । प्राचीन विद्वान आर्यभट्टका अनुसार महाभारत युद्ध ई.पू. ३१३७ मा भयो । कृष्णले ११९ वर्षको उमेरमा देहत्याग गर्नुभयो ।

आर्यभट्टकै अनुसार श्रीकृष्णले गीताज्ञान पाण्डबमध्येका एक, महायोद्धा अर्जुनलाई महाभारतको रणमैदानमा दिनुभएको हो । सर्वप्रथम गीता ज्ञान अर्जुन लगायत सञ्जयले सुने, उनैले धृतराष्ट्रलाई सुनाएका थिए । गीताको संवादमा श्रीकृष्णले ५७४ श्लोक, अर्जुनले ८५ श्लोक, सञ्जयले ४० र धृतराष्ट्रले एक श्लोक बोलेका छन् ।

श्रीकृष्णका गुरू घोर अङ्गीरस थिए भनी छान्दोग्य उपनिषद भन्छ । उनैले कृष्णलाई जुन उपदेश दिएका थिए, सोही उपदेश कृष्णले अर्जुनलाई दिनुभएको हो भनी छान्दोग्य उपनिषदमा पाईन्छ ।

गीतामा युक्तिमार्ग, भक्तिमार्ग, शक्तिमार्ग, मुक्तिमार्गका ज्ञान छन् । कर्मयोग, यम–नियम, धर्मकर्म आदिबारे मार्गदर्शन पाइन्छ । ब्रम्ह (इश्वर) एउटै छन् भन्ने यसको सारसूत्र हो । हरेक शब्द यति सारगर्भित छ, कि प्रत्येक शब्दको लामो ब्याख्या वा छुट्टै पुस्तक हुनसक्छ ।

नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई गीताको अठारै अध्याय, ७०० श्लोक र तिनको अर्थ जुनसुकै बेला पनि फरर्र भन्न सक्नेगरी कण्ठस्थ थियो । बीपीमा पनि गीता–ज्ञान गहिरोसँग थियो । सो ज्ञान उहाँले आफ्ना उपन्यासहरूमा कथानक र पात्रमार्फत अभिव्यक्त गर्नुभएको छ ।

भारतीय कवि रवीन्द्रनाथ ठाकुर (टैगोर) लाई सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार दिलाएको ‘गीताञ्जली’ गीताज्ञानकै प्रभाव हो, जसलाई पढ्दा स्वतः स्पष्ट हुन्छ ।

आदि शंकराचार्यदेखि महात्मा गान्धी, राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन्, रजनीश लगायत सयकडौँ उद्भट भारतीय विद्वानहरूसम्मले गीता बारे अनेकौं प्रवचन दिए । तर सर्वोत्कृष्ट प्रवचन रजनीशकै थियो ।

यस सुखद अवसरमा सबैमा हार्दिक शुभकामना ।

( चन्द्रमणि गौतमको फेसबुकबाट  साभार )

 

 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्