SSI SSI
SSI SSI

प्रसिद्ध ब्राण्डका अनौठो नामकरण : रोचक जानकारी

प्रसिद्ध ब्राण्डका अनौठो नामकरण : रोचक जानकारी

१. युरोपमा निर्यात हुँदैआएको नेपाली चियाको एउटा ब्राण्ड ‘राकुरा’ प्रख्यात नेपाली चियाविज्ञ तथा व्यवसायी रामकुमार राठीले आफ्नै नामको छोटकरी बनाएर नामकरण गर्नुभयो । तत्कालीन सोभियत संघको सहयोगमा २०२२ सालमा स्थापित जनकपुर चुरोट कारखानाद्वारा पहिलोपटक उत्पादित ३ खालका चुरोटको नामकरण गर्न नाटककार तथा चित्रकार बालकृष्ण समलाई जिम्मा दिँदा उहाँले ज्ञानेश्वर (काठमाडौं) स्थित आफ्नो निवासको बाहिरी भित्तामा रहेको ‘गरूड’, आकृति, ‘आसा’ र ‘ज्वाला’ आफ्ना दुई छोरीको नाममा तीनवटा चुरोटको नामकरण र लेबल बनाईदिएको कुरा पर्यटन व्यवसायी तथा लेखिका (मित्र) कुसुम शाही सिंहले उल्लेख गर्नुभयो।

२. पाल्मोलिभ (Palmolive) कम्पनी : सन् १८९८ मा अमेरिकाको जोहन्सन कम्पनीले ताडी तेल अर्थात पाल्म आयल (Palm oil) र जैतुन तेल अर्थात ओलिभ आयल (Olive oil) मिलाएर साबुन बनाउँथ्यो । यी दुवै खाले तेलको नाम मिलाएर पाल्मोलिभ (Palmolive) भन्ने कम्पनी बनाईयो, मानौं हामीकहाँ कसैले तील–तोरी कम्पनी बनाएजस्तो । अमेरिकाकै न्युयोर्कमा सन् १८०६ मा विलियम कोल्गेटले स्थापना गरेको साबुन उत्पादक कम्पनी सन् १८७३ देखि टुथपेस्ट बनाउन थाले । १९६० को दशक पछि मान्छेको थरका आधारमा रहेको कम्पनी कोल्गेट र तेलको आधारमा बनेको कम्पनी पाल्मोलिभ गाभिएर कोल्गेट–पाल्मोलिभ मल्टिनेशनल कम्पनी भए जसका उत्पादन र प्लान्टहरू दुईशय मुलुकमा व्याप्त छन् ।

२. याहू (Yahoo) ईमेल : सन् १९९४ मा अमेरिकाको क्यालिफोर्नियामा डेभिड फिलो र जेरी याङ नामक स्टानफोर्ड विश्वविद्यालयका स्नातक दुई युवाले स्थापना गरेको एक लोकप्रिय वेभसाईट कम्पनी हो ‘याहू’ (Yahoo) । मित्रहरू झुक्किन सकिन्छ, जोनाथन स्विफ्टको प्रसिद्ध उपन्यास ‘गुलिभर’र्स् ट्राभेल्स’ मा एउटा यस्तो पात्र छ, जो प्राणीको काल्पनिक रुपमा, रुप मानिसको जस्तै हुन्छ, तर ब्यवहार मूर्खतापूर्ण र आक्रामक हुन्छ । त्यसैले याहूको शाब्दिक अर्थ हिंसात्मक, आक्रामक र अनौठो खालको भएको मानिस भन्ने हुन्छ । तर आजकाल याहू भन्नाले यही वेभसाईटको छोटकरी नाम बुझिन्छ, जसको पूर्णरुप (Yet Another Hierarchical Officious Oracle=Yahoo) हुन्छ ।

३. हिज मास्टर्स् भ्वाईस (His Master's Voice) : सन् १९०१ मा स्थापित यो ब्रिटिश कम्पनीले खासगरी गीत–संगीत ध्वनी रेकर्डका सामग्री उत्पादन गर्छ । यो नाम सर्वप्रथम १८९० मा तय गरिएको थियो । यसको लोगोमा निपर जातको एउटा कुकुर बजिरहेको पुरानो प्रविधिको ग्रामोफोनमा आवाज सुनिरहेको छ । सोही कुकुरलाई लक्षित गरी राखिएको नामको नेपाली अर्थ ‘उसको मालिकको आवाज’ भन्ने लाग्छ । तर चल्ती र लोकप्रियता व्यापक भएपछि जुनसुकै नाम पनि नराम्रो भन्ने हुँदो रहेनछ ।

४. नेपालमा चल्ती केही स्कच ह्विस्कीका ब्राण्ड :

'टिचर्स्' : तीनसय वर्षअघि हातैले उत्पादन गर्ने स्कच ह्विस्कीको इतिहासमा रक्सीका पारखीले सजिलै चिन्ने र भट्टीवालाई बेच्न सहज होस् भनेर वरिपरिकै घटना, परिस्थिति र चिजहरूबाट नामकरण गरियो । जस्तै स्कूल शिक्षकहरूले खाने गरेको टिचर्स् भयो । संयोगवश, यसका संस्थापकको नाम पनि विलियम टिचर नै भएकोले त्यही नामबाट नेपालमा जानिन्छ । जो सन् १८८४ मा ‘टिचर्स् हाईल्याण्ड क्रिम’ नामले डिस्टिलरी नै सुरू भयो ।

भ्याट ६९ (VAT 69) : १८८२ मा विलियम स्यान्डर्सन्ले वाईन बनाउने शिक्षापछि प्राक्टिकल अनुभव लिने सिलसिलामा एकसय काठेपुङ्भरि अन्नको ह्विस्की बनाए र स्वाद जाँचकीको एउटा टिमलाई ६९ वटा पुङ् (कास्क अथवा भ्याट) को रक्सी जँचाए । त्यसैबाट यसको नाम, ६९ वटा पुङ् जाँचेकोबाट नामकरण भयो (VAT 69)। १८८४ देखि डिस्टिलरीको स्केलमा उत्पादन थाल्दा यसको बोतल जुन आकारको थियो (घाँटी फुलेको) अहिले पनि अपरिवर्तित रुपमा हुबहु छ ।

जोह्नी वाकरका ७ थरि : सन् १८२० मा स्थापित जोह्नी वाकर (स्कच ह्विस्की) कं. ले ‘वाकर्स् ओल्ड हाईल्याण्ड ह्विस्की’ को नामबाट उत्पादन गर्ने गरेको रक्सीले संसार पिटेपछि सन् १९०९ मा यसका पारखीहरूलाई मापसेको कारण जिब्रो लटपटिएको बेला उच्चारण गर्न सजिलो होस् भनेर ‘ब्लाक लेबल’ भनी पुनः न्वारान गरिदियो । कारण के परेछ भने पिउँदै गएपछि जुन रक्सी मगाएको हो, भट्टीवालाले त्योभन्दा अर्कै रक्सी दिने गरेर दिग्दार भएपछि ‘एक्स्ट्रा स्पेशल ओल्ड हाईल्याण्ड ह्विस्की’को नाम ‘रेड लेबल’ भयो । २०११ मा ‘डबल ब्लाक लेबल’ निकाल्यो । १५ किसिमका ह्विस्कीको स्वादलाई मिश्रण गरेर उत्पादित ‘गोल्ड लेबल’ २०१४ अघिसम्म ड्युटी फ्री सपमा मात्र बेचिन्थ्यो, त्यसपछि चैं खुला बजारमा पनि आयो । २०१३ देखि जोह्नी वाकरले प्लेटिनम लेभल उत्पादन गर्न थाल्यो । जोह्नी वाकरको सबभन्दा दामी ह्विस्की भनेको ब्लु लेवल हो, जो १० हजारवटा काठे–पुङ (कास्क) मध्ये एउटाबाट मात्र ब्लु लेबल रक्सी बनाउन सकिन्छ रे !

सिवास रेगल (Chivas Regal) : १४ वटा छोराछोरी मध्येका जेम्स र जोहन सिवास नामका दाजुभाईले अनेक हण्डर खाएर अनेक पेशा गर्दै आखिर डिस्टिलरी कम्पनी ‘शिवास ब्रदर्स्’ १७८६ मा स्थापना गरेपछि १८०१ बाट बजारमा आएको यो सबभन्दा पुरानो स्कच ह्विस्कीमध्येमा पर्छ जसले आजसम्म लगातार उत्पादन गरिरहेको छ । यसका १२ वर्ष पुरानो, १८ वर्ष पुरानो र २५ वर्ष पुरानो, ३ थरिका ह्विस्की उत्पादन हुन्छन् । २०१६ मा यो ह्विस्की संसारको चौथो सबभन्दा बढी (नौ लिटरका बक्साबन्दीका करिब ५० लाख) बिक्री भएको सूचीमा देखिन्छ । यसले २१ तोपको सलामी (21gun salute) अर्थ दिने नाम ‘रोयल स्यालुट’ पनि उत्पादन गर्छ ।

 

( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्