SSI SSI
SSI SSI

घर जग्गा किन्न नेपालबाट २० करोड डलर अष्ट्रेलिया भित्रियो 

 
सिड्नी । अध्ययन ,रोजगारी तथा ब्यबसायको लागि आकर्षणको देश बन्दै गरेको अष्ट्रेलियामा  पर्मानेन्ट रेसिडेन्सी (पी आर ) प्राप्त गरेपछि बस्ने एउटा घर हुनुपर्छ भन्ने मान्यता प्राय नेपालीले राखेका हुन्छन् । घर जग्गा किनेर आफ्नो र आफ्नो परिवारको भबिस्य सुनिस्चित देख्ने कतिपयले पुर्ख्यौली सम्पति बेचबिखन गरेर भएपनि अष्ट्रेलियामा घर घडेरीको जुगाड गर्ने गरेको पाईन्छ । अष्ट्रेलियाको विदेशी लगानी नियामक निकाय को ट्रेजरी डिपार्टमेन्टले हालै सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीको ठूलो लगानी रहेको जनाईएको छ । 

  सन् २०२२ को जुलाई १ तारिख देखी २०२३ को जुन ३० सम्मको अवधिमा  अवधिमा २० करोड डलर नेपाल बाट अष्ट्रेलिया भित्रिएको र उक्त रकम यहाको घर–जग्गा व्यवसायमा लगानी गरिएको उक्त प्रतिबेदनमा उल्लेख छ ।  यो अवधिमा अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीहरुले आफुलाई सातौं ठूलो लगानी कर्ताको रुपमा उभ्याएका छन् । 
 अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुर पछि ठूलो लगानी नेपालको छ । अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने प्रमुख १० राष्ट्रमा नेपालले  इन्डोनेसिया, बेलायत र मलेसियालाई पछाडी पारिदिएको छ । यो अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा  चीनले ३.४ अर्ब डलर लगानी गरेर  आफुलाई पहिलो नम्बरमा उभ्याएको छ भने  हङकङले ६० , भियतनामले ४० , ताइवान र  सिंगापुरले ३० /३० करोड डलर लगानी गरेका छन् भने  इन्डोनेसिया, भारत, बेलायत  र मलेसियाले २० /२० करोड डलर लगानी गरेका छन् ।
पछिल्लो एक वर्षमा अष्ट्रेलियामा घर–जग्गा कारोबारका लागि नेपालीको २ सय ८१ वटा प्रस्ताव पास भएको थियो भने पछिल्लो तीन महिना (२०२३ को अप्रिल, मे र जुन) मा मात्र अष्टेलियाको घरजग्गा व्यवसायमा नेपालीले १० करोड डलर लगानी गरेको र  उक्त अवधिमा मात्र नेपालीहरुको घर–जग्गा किन्ने ८८ वटा प्रस्ताव स्वीकृत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

No description available.
गत आर्थिक वर्ष सन् २०२१/२२ मा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले ०.१ अर्ब डलर (१० करोड डलर) लगानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष अष्ट्रेलियाको घर–जग्गा व्यवसायमा नेपालीको लगानी दुई गुणाले बढेको प्रतिवेदनमा उल्लेख  छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०६:३९
प्रतिक्रिया दिनुहोस्