SSI SSI
SSI SSI

सम्झनामा नारायण गोपाल 


नारायण गोपाल गुरुवाचार्य (वि.सं. १९९६–२०४७) लाई ‘स्वर सम्राट’ को उपाधि दिने ‘समीक्षा’ साप्ताहिकका सञ्चालक तथा प्राज्ञ मदनमणि दीक्षित हुन् । हुनत, नगेन्द्र थापाले त्यो उपाधि आफूले दिएको भन्ने सुनिएको हो, तर मसँगको कुराकानीमा 'नारान्दाई' विनोदले लेखिदिएको जिकिर गर्थे।
मदनमणिजीका छोरा विनोदमणि र नारायण गोपाल साथी भएको नाताले पनि आधुनिक सञ्चार माध्यमको स्थापना नभएको पञ्चायतकालमा नारायण गोपालबारे समीक्षामा विभिन्न सामग्रीहरू आइरहन्थे ।
यिनका पिता आशागोपाल गुरुवाचार्य सितार वादनका वस्ताद थिए । छोरालाई शास्त्रीय संगीततिरै केन्द्रित गराउने उनको चाहना थियो । ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो......’ जस्तो अति लोकप्रिय गीत गाएपछि पिता आशागोपाल साह्रै दिग्दार भएर नारायण गोपालका गीतकार साथी नगेन्द्र थापालाई भनेछन्, “काजी, छोरो बिग्रियो, मायापिरतीका गीत गाएर हिँड्छ, तपाईँले सम्झाउँदा मान्छ कि.....!’

दार्जिलिङ्गमा शिक्षण पेशामा लागेकी उनकी पत्रमित्र पेमाला लामासँग यिनको २०२८ मा विवाह भयो । पहिलो भेट र बिहेको चाँजो मिलाईदिने संगीतकार गोपाल योञ्जन र उनका दाजु कर्मा गोपाल योञ्जन थिए । विहेपछि यिनी आफ्नो पुर्ख्यौली घरमा नबसेर पोखरा, हेटौँडा आदि स्थानमा बसोबास गरे । सन्तान भएनन् । यिनले रेकर्ड गरेका जम्मा १३७ वटा गीत गाए, जुन गीत उनका कालजयी सन्तानका रुपमा लिन सकिन्छ । यिनी गीतको बोल र संगीत मन नपरेको गीत कदापि गाउँदैनथे । एक गीतकार (कवयित्री) का रचनाको गायक–कपि च्वारच्वार च्यातेर फालेको मैले नै देखेको छु ।
२०४४ सालमा यिनको एलबम ‘गीतीयात्रा’ भाग १ प्रकाशित हुनुअघि त्यसको समीक्षा गर्न गीतकार तथा संगीतकार प्रदीप रिमाल मार्फत नमूना क्यासेट मलाई दिइएको थियो । मैले मित्र श्री यम शर्मा पौडेलजीको सम्पादनको ‘वार्तालाप’ साप्ताहिकमा सो क्यासेटका गीतहरूको समीक्षा गरेको, उनले म्युजिक नेपालको अफिस कालिकास्थानमा पढेपछि निकै खुशी भए । नारायणगोपाल मदेखि निक्कै खुशी भएको दुईटा अवसर थिए– पहिले उनी सांस्कृतिक संस्थानको महाप्रवन्धक भएको बेला सारा कलाकारले उनलाई त्यहाँबाट हटाउन मन्त्रीहरूकहाँ डेलिगेशन गएको बेला मैले उनको पक्षमा पत्रपत्रिकामा लेखेका टिप्पणीबाट र दोस्रो पटक उक्त गीतीयात्रामा भएका ८ गीतको समीक्षा गरेको बेला ।
सो गीती यात्रा एलबमको समीक्षा गरेपछि म्युजिक नेपालमै उनले मसँग धेरैबेर कुरा गरे । कुराकानीको क्रममा उनले उपरोक्त भनाई व्यक्त गरेका थिए, “बोलमा साहित्यको पोषण र संगीतमा लोकधुनको सुगन्ध मिलाएको गीत कर्णप्रिय र अधर–प्रिय हुन्छ । भारतको हरियाणा, उत्तरप्रदेशको कुमाउँ–गढवाल जस्ता पहाडि इलाका, नेपालको मध्यपर्वतीय प्रदेश हुँदै भारतको दार्जिलिङ्ग, सिक्किम, भूटान भएर बर्मासम्म जुन पहाडी जनजीवन छ, यो रेन्जको समाजमा गाइने गीतका जुन खालका धुनहरू छन्, तिनलाई मिलाएर गीतमा मिसाउनु राम्रो हुन्छ । गीत सबैका हुनुपर्छ र सबैले गाउने हुनुपर्छ....।”
२०४७ सालमा नारायण गोपाल बिमारी भए । वीर अस्पतालमा भर्ना हुनेबित्तिकै हेर्न गएको थिएँ । मलाई हेरेर उनी मुस्काए मात्र, बोलेनन् । त्यो नै मेरो अन्तिम भेट थियो । त्यसपछि डाक्टरले भेट्नै बन्द गरिदिए । २०४७ मंसिर १९ गते राती ९.३० तिर उनले यो संसार छोडेको खबर आयो । भोलीपल्ट उनको शवयात्रामा प्रज्ञा भवनदेखि आर्यघाटसम्म हिँडेरै गइयो । मंसिर १९ उनको स्मृति दिवस हो । भावपूर्ण श्रद्धाञ्जली 'नारान् दाई' ।
(चन्द्रमणि गौतमको फेसबुक बाट साभार )

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०५:५०
प्रतिक्रिया दिनुहोस्