SSI SSI
SSI SSI

अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेट२०२३ को उपाधि 


सिड्नी । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । हिजो नोभेम्बर १९ तारिख आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा भएको फाइनल खेलमा अष्ट्रेलियाले  भारतलाई छ विकेटले पराजित गर्दै  विश्वकपको उपाधि हात पारेको हो । अष्ट्रेलियाले यो जीतसँगै छैटौँ पटक विश्व विजेता बन्न सफल भएको छ । अष्ट्रेलियाले यसअघि सन् १९८७,  १९९९,  २००३,  २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो । अष्ट्रेलियाको जीतमा ट्राभिस हेडले एक सय ३७ रनको शतकीय पारी खेले । उनलाई मार्नुस लबुसेनले साथ दिएका थिए । लबुसेनले अविजित ५८ रन बनाए भने  मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए । भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ/नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् । 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई÷दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए ।

(फोटो - साभार सामाजिक सञ्जाल )

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्