SSI SSI
SSI SSI

अष्ट्रेलियामा उल्लासपूर्वक छठ मनाइयो 


सिड्नी ।  छठ पर्वको अवसरमा नेपाल तराई ईन अष्ट्रेलिया (एण्टा )को आयोजनामा सिड्नीको एन्जल पार्क चिपिङ्ग नर्टनमा  यहि नोभेम्बर १९ तारिख आइतबार उल्लासपूर्वक मनाईएको छ ।  यो पर्व सिड्नीको अलावा मेलबर्न ,तास्मानिया लगायतका अष्ट्रेलिया का विभिन्न राज्यहरुमा मनाइएको छ ।  छठको  मुख्य दिन हिजो  सूर्यको आराधना, उपासना र पूजा गरी व्रतालुहरू  पानीसमेत नखाइकन निराहार बसेका थिए । यस पर्वमा साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गरिन्छ । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँने परम्परा रही आएको छ ।


प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू  रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।
नेपाल न्यूज संग कुरा गर्दै एण्टाका निबर्तमान  अध्यक्ष शुभांसु शाहले -छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिने र छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको बताउछन्  । हाम्रो धर्म सस्कृति र परम्परा लाई प्रवासमा पनि जीवन्त राख्न एण्टाले सन् २००८ देखि छठ पर्व मनाउदै आएको बताए ।  

विशेषगरी नेपालको तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भाग र प्रवासमा समेत मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने यो पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।

यो पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ । सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूया छठ व्रत बस्नुभएको थियो । फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्