SSI SSI
SSI SSI

आज भाईटिका लगाईदै , फोटो फिचर सहित


सिड्नी । तिहारको अन्तिम दिन अर्थात् भाइटीका आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले त्यहाको साईत अनुसार भाई टिका लगाउदै छन् । अष्ट्रेलियाको सिड्नीमा बिहान ११. १५ बजेको साइतमा भाई टिका लगाईयो भने नेपालमा बिहान  १० बजेर ५१ मिनेटको उत्तम साइत पारेर  भाईटिका लगाइयो  । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । 


सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको र  त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ ।
 दिदीबहिनी पश्चिम र दाजुभाई पूर्व फर्केर यस वर्षको भाईटिका लगाउदै छन् । भाई टिकामा सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरि  दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरेर कालको बाटो छेकिन्छ । त्यसपछि पानी र तेलले पालैपालो दाजुभाइलाई सातपटक घेरी परिक्रमा गरिन्छ । त्यसपछि फूल, अक्षता आदिले दाजुभाइको पूजा गरी शिरमा तेल लगाइन्छ । तेल लगाएपछि सप्तरङ्गी निधारमा लगाइन्छ । निधारमा सेतो रङको लामो धर्को तानेर त्यसमाथि अरु छ रंङका टीका लगाइन्छ । सप्तरङ्गीमा इन्द्रधनुषका सात रङ्गहरू प्रयोग गरिन्छ ।

एकभन्दा बढी दाजुभाइ हुनेहरूले भाइटीकाको दिन सबैभन्दा कान्छोदेखि टीका लगाउन सुरु गर्ने प्रचलन छ । 
दिदीबहिनीले टीका लगाइदिएपछि कहिल्यै नओइलाउने मखमली फूलको मालालाई फूलझैँ सधैँ ऊर्जावान हुने कामनाका साथ लगाइन्छ । तत्पश्चात दाजुभाइलाई उपहार तथा सेलरोटी र अन्य मिठा परिकार थालमा सजाएर दिने चलन छ । सँगै दाजुभाइले पनि उपहार तथा दक्षिणा दिँदै दिदीबहिनीको पाउमा ढोगीदिन्छन् ।  दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने हाम्रो शास्त्रीय मान्यता रहेको छ । 


यसैबिच दिदीबहिनी एवं दाजुभाई  नहुनेहरुले  काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर भाईटिका लगाए ।  दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटिकाको  दिनमात्र खुल्ला गरिन्छ । 

 

फोटोहरु सामाजिक सञ्जालबाट साभार गरिएको हो 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्