SSI SSI
SSI SSI

सम्पादकीय 


नेपाल आमा, समाज र सँस्कृति हजारौँ वर्षदेखि  हजारौँ वर्षसम्म चलिरहने हाम्रा सनातन सम्पत्ति हुन् । मानव इतिहासमा मानिसको जीवन पद्धतिसँग जोडिएका सँस्कृति  विश्व शान्ति र मानवीय सद्भावका लागि अनिवार्य थिए ,छन् र  हुनेछन् । अहिले हामी दशैँपछि तिहार मनाउने संघारमा छौ । हाम्रा पर्वहरू मानव , ईश्वर ,प्रकृति, पर्यावरण र मानवेतर प्राणीसँगको सहअस्तित्व एवं सहयात्राका द्योतक रही आएका छन्  । नेपालीको मौलिक पर्वका रुपमा मनाईदै आएको दोश्रो ठूलो पर्व तिहारको   रौनक यतिबेला शहरदेखि गाउसम्म  तथा महलदेखि झुपडीसम्म र घरदेश देखि परदेश सम्म छप्पकै छाइसकेको छ । आत्मियता र भाइचाराको प्रतीकको रूपमा मनाईने यो पर्वले हरेक परिवारमा खुसीयाली र उमंग ल्याइदिओस् भन्ने  कामना गरिन्छ । 
दसैंपछि आउने यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि सुरु हुन्छ । यो पर्वले मानिस—मानिसबीचको सम्बन्ध र आत्मीयतामा मात्रै नभई मानिस र प्राणीहरूबीचको सम्बन्धमा पनि विशेष अर्थ राख्छ । पाच दिनसम्म मनाइने तिहारको पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाई तिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोवर्धन पूजा वा गोरु तिहार भनिन्छ । अन्तिम दिन भाइटीका हो, जुन तिहारको मुख्य दिन पनि मानिन्छ ।
पाच दिनसम्म  मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाच दिनलाई यमपञ्चक भनिएको हो भन्ने धार्मिक विश्वास रही आएको छ । हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरेर मनाएको हुदा  यी पाच दिनलाई यमपञ्चक भनिएको हो ।

कार्तिक शुक्ल द्वितीया तिथिका दिन मनाइने भाइटीकामा दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने, दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउदैन भने सयपत्री फूलको रङ कहिल्यै उडेर जादैन । दूबो लामो आयुको प्रतीक हो । यश, आरोग्य र दीर्घायुको कामना गर्दै निधारमा लगाइने सप्तरंगी टीकाको पनि त्यत्तिकै महत्व  छ । 
 तिहार सबैको लागि उज्यालो होस्, सुखमय बनोस् यो पर्वले  सबैमा  खुसी र उमंग छाओस् तिहारको सबैलाई शुभकामना ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्