SSI SSI
SSI SSI

आज चिकित्सक ऋषि धन्वन्तरि जयन्ती


  
हिन्दू धर्मशास्त्रमा धन्वन्तरिको परिचय महान चिकित्सक भएकोले ‘देव’ पद पाएका वा भगवान विष्णुकै अवतार मानिएका आदिम् महान व्यक्तिको रुपमा पाईन्छ ।
 पौराणिक वर्णनमा देवता र दानब मिलेर सुमेरु पर्वतलाई मदानी र कर्कट नागलाई नेती बनाएर समुद्र मन्थन गर्दा १४ सम्पदा– शरद पूर्णिमामा चन्द्रमा, कार्तिक द्वादशीमा कामधेनु गाई, त्रयोदशीका दिन धन्वन्तरि, चतुर्दशीमा कालीमाता र कार्तिक औंसीका दिन देवी लक्ष्मीलगायत कल्पवृक्ष, हलाहल विष आदि पनि प्रकट भए । भगवान धन्वन्तरीको यही जन्मलाई धनतेरसको रूपमा मनाउने गरिएको हो । यसै दिन उनले आयुर्वेदको सूत्रपात गरे । भगवान धनवन्तरीलाई विष्णुकै अवतारको रूपमा मानिन्छ । धननवन्तरी प्रकट भएको उपलक्ष्यमा धनतेरस पर्व मनाइएको हो । 
धन्वन्तरि वंशमा दिवोदास नामक वैद्य थिए, जसले काशीमा विश्वकै पहिलो ‘शल्य चिकित्सा’ (सर्जरी) को विद्यालय स्थापित गरे रे ! सो विद्यालयका प्रधानाचार्य ‘सुश्रुत’ नामक पहिलो सर्जन थिए । सुश्रुतको बारेमा मैले यसअघि एक विहान प्रस्तुत गरेको छु । सुश्रुत दिवोदास कै शिष्य र ऋृषि विश्वामित्रका छोरा थिए । उनैले लेखेको हो ‘सुश्रुत संहिता’ ।
 तिहारको कार्तिक त्रयोदशी (धनतेरस) मा खासगरी आयुर्वेद विधाका चिकित्साकर्मीहरूबाट भगवान धन्वन्तरिको पूजा हुन्छ । समुद्र मन्थन गर्दा नै प्रकट भएको हलाहल विष भगवान शंकरले पिएर पृथ्वीलाई बचाएका थिए, धन्वन्तरिले शंकरलाई अमृत खुवाए । यिनको प्रिय धातु पित्तल मानिएको हुनाले तिहारको मौसममा पित्तलका भाँडाकुँडा किन्नु शुभ हो भन्छन् धर्मगुरूहरू ।

पञ्चकको प्रारम्भ (कार्तिक कृष्ण त्रयोदशी) धनतेरसमा दीपावली आगमन को पूर्वसूचक यस दिन सून, चाँदी, पित्तल वा ताम्वाका कुनै भाँडाकुँडा किन्नुलाई एकदमै शुभसूचक मानिन्छ । यस दिन मृत्युका देवता यमराज र भगवान धनवन्तरिको पूजाको महिमा छ । 
परम्परागत चेतना तथा संस्कृतिमा स्वास्थ्यको स्थान धनभन्दा महत्वपूर्ण मानिन्छ । भनाईनै छ, "पहिलाे सुख निरोगी काया, दोस्रो सुख घरमा माया" । त्यसकारण आजको दिन समुद्रमन्थनद्वारा पौराणिक आयुर्वेदविज्ञ (चिकित्सक) धन्वन्तरीको उत्पत्तिलाई स्वास्थ्यरक्षा दिवसको रूपमा मनाईन्छ ।
धन सम्पत्तिका देवता कुबेर को  लागि घरको पूजास्थलमा दीयो बाल्ने र मृत्युका देवता यमराजको लागि पनि मूलढोकामा बत्ती बालेर पूजा गरिन्छ । 

(चन्द्रमणि गौतमको फेसबुक वालबाट साभार )

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्