SSI SSI
SSI SSI

सञ्चालनमा आयो सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर

काठमाडौंको कमलादीमा सिसामाथि हिँड्न मिल्ने 'स्काइ–वाक टावर' सञ्चालनमा आएको छ।

'वन्डर्स नेपाल' कम्पनीले शुक्रबार बिहान ८ बजेदेखि टावर औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

१३ रोपनीमा फैलिएको टावर ७८.५ मिटर अग्लो छ। टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामाथि हिँड्न पाइन्छ। 

सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो। परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी लागेको कम्पनीले बताएको छ।

२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत जान सकिन्छ। दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्नेछन्।

टावरको २५ औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ। त्यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए।

'सिसामा उभिँदा आकाशमै उभिए जस्तो महसुस हुन्छ। यो एकदमै रोमाञ्चक एड्भेन्चर हुनेछ,' इञ्जिनियर समेत रहेका पोखरेलले भने 'स्काइ–वाकको अनुभव बाहिरबाट शब्दमा भन्न सकिँदैन। चढेरै अनुभव हुन्छ।'

उनका अनुसार स्काइ–वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो। यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ। स्काइ–वाकबाट हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै देखिन्छ। साहसिक खेल खेल्न रुचाउनेहरूलाई थप मज्जा यस स्काइ–वाकले दिने उनले बताए।

करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरालगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिन्छ।

यस्तै एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृश्यावलोकन समेत यहाँबाट सुन्दर देखिन्छ।

झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ। यहाँ एकैपटक पाँच सय मान्छे अट्नेछन्।

स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार रूपैयाँ शुल्क तिर्नुपर्छ। स्काइ–वाक भएको २५औं तलाभन्दा माथि जान हार्नेसलगायत सेफ्टी इक्युपमेन्टको आवश्कता पर्छ। जसको थप हजार रूपैयाँ शुल्क लाग्छ।

टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिकालाई र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन। ७० देखि ८० वर्षसम्मकालाई ५० प्रतिशत छुट रहेको छ।

'टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको हो,' अध्यक्ष पोखरेलले भने, 'उच्च गुणस्तरको यस सिसामा हिँड्न सुरक्षित रहेको हामी सबैमाझ विश्वास दिलाउँन चाहन्छौं।'

टावरको २३औं र २४ औं तलामा रेष्टुरेन्ट र क्लब रहेको छ। जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन्। स्काइ–वाक टावरको कम्पाउण्डमा एम्पिथिएटर र फास्ट फुड रेस्टुरेन्ट छ। 

जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम हुनेछ। कम्पाउण्डमा भएको रेस्टुरेन्ट र एम्पिथिएटरमा जान शुल्क लाग्दैन।

स्काइ–वाक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने कम्पनीको तयारी छ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्